शनिबार ६ बैशाख २०८२
राजनीति

एक दर्जन बढी कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

शुक्रबार चैत २९, २०८१/ Friday 04-11-25

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ । रामेश्वर खनाल संयोजकत्वको आयोगको शुक्रबार बिहान अर्थमन्त्री पौडेललाई प्रतिवेदन बुझाएको हो ।

आयोगले सबै पक्षसँग परामर्श र छलफलगरी नेपालको अर्थतन्त्रलाई गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने दिएको छ । एक दर्जन पुराना ऐन खारेज र नयाँ एक दर्जन कानुन बनाउन आयोगको सुझाव छ ।

आयोगले प्रतिवेदनले समग्र माग पक्ष कमजोर भएकोले आर्थिक वृद्धि दर सुस्त रहेको देखाएको छ । कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोबारमा ह्रास आउनु, सहकारी वित्तीय प्रणालीमा लाखौं मानिसको बचत फस्नु, सरकारले गर्नु पर्ने भुक्तानी समयमा नगर्नु, व्यापारिक उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र सङ्कटग्रस्त बन्दा उपभोग र लगानीमा ह्रास आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

आयोगले तत्काल माग पक्षमा सुधार ल्याउने नीतिगत हस्तक्षेप गर्न सुझाव दिएको छ । प्रतिवेदनले आर्थिक वृद्धि हासिल गर्न आपूर्ति पक्षबाट संरचनात्मक सुधार गरी लगानीयोग्य वातावरण बनाउन र उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गर्न सरकारलाई सुझाव दिएको छ । 

यी एन खारेज गर्न आयोगको सुझाव 

आयोगले नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बहाउने गलत प्रयोग हुन सक्ने, अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका १५ वटा  ऐनहरू खारेज गर्न सरकारलाई सुझाव दिएको छ । 

  • आय टिकट दस्तुर ऐन, २०१९ 
  • कातोवजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ 
  • निजी बन जङ्गल राष्ट्रियकरण ऐन २०१३ 
  • प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ 
  • क्षतिपूर्ति ऐन, २०१९ 
  • बिर्ता उन्मूलन ऐन, २०१६ 
  • विर्तावालले विर्तामा रकम (भट्टी चर्सा आदि। लगाई लिन खान नपाउने ऐन, २०१५ 
  • राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ 
  • बिदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ 
  • नेपाल एजेन्सी ऐन, २०१४ 
  • प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३ 
  • निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ 
  • सामाजिक व्यवहार सुधार ऐन, २०३३ 
  • नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ 
  • वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ 

आयोगले १५ वटा ऐनहरू खारेज गर्न सुझाव दिएको छ भने अन्य धेरै ऐनहरू परिमार्जन गर्न सुझाव दिएको छ । 

जसमा औषधी ऐन, २०३५ लाई परिमार्जन गरी औषधि, औषधिजन्य सप्तिमेन्ट, कस्मेटिक्स, मेडिकल डिभाइस, र प्रत्यारोपणका लागि बनाइएका मानव–कोषमा आधारित सामग्रीको उत्पादन, आयात, बजारीकरण र विक्री–वितरणलाई नियमन गर्ने गरी नयाँ ’औषधि तथा स्वास्थ्य सामग्री नियमन गर्ने ऐन जारी गर्न सुझाव दिएको छ । 

त्यस्तै,अपचलनसम्पत्ति अधिग्रहण ऐन २०१३ र जग्गा प्राप्ति ऐन २०३४ लाई गाभेर बौद्धिक सम्पत्ति, अदृश्य सम्पत्ति, कुनै निकायको शेयर वा स्वामित्व अधिग्रहण गर्न सकिने गरी नयाँ निजी सम्पत्ति अधिग्रहण ऐन जारी गर्न पनि सुझाव दिएको छ ।   

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ र प्रतिलिपि अधिकार ऐन, २०५९ गाभेर वर्तमान समयको बौद्धिक सम्पत्ति रक्षाका सबै चुनौतीहरूलाई सम्बोधन गर्ने र असल व्यावसायिक वातावरण निर्माण गर्ने नयाँ बौद्धिक सम्पत्ति अधिकार संरक्षण गर्ने ऐन जारी गर्न पनि सुझाव दिएको छ । 

नेपाली व्यवसायीको बौद्धिक सम्पत्ति अन्तर्राष्ट्रिय स्तरमा संरक्षण दिलाउन म्याडिङ प्रणाली र त्यस अन्तर्गतको सम्झौता अनुमोदन गर्ने र पेटेन्टको अन्तर्राष्ट्रिय संरक्षणका लागि पेटेन्ट कोअपरेसन सन्धिमामा सहभागी हुन सुझाव दिएको छ । 

खारेज गर्न सिफारिस गरिएको निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को सट्टा निकासी पैठारी व्यवसायमा संलग्न व्यक्ति वा निकायले एक्जिम संकेत नम्बर लिनु पर्ने र निकासी प्रवर्धनका प्रबन्धहरू सहित की प्रवर्द्धनात्मक तथा नियमनकारी प्रबन्ध सहितको नयाँ निकासी पैठारी नियमन ऐन जारी गर्नु पर्ने उल्लेख गरेको छ ।

वातावरण–मैत्री हिसाबले नदी सतह र खानीबाट बालुवा, ढुङ्गा गिट्टी जस्ता निर्माण सामग्री उत्खनन र विक्री वितरण व्यवस्थित र नियमन गर्न ऐन निर्माण सामग्रीको व्यवस्थापन तथा नियमन ऐन जारी गर्न पनि सुझाव आयोगले दिएको छ । कर्जा सूचना प्रतिवेदन ऐन (क्रेडिट इन्फर्मेसन रिपोर्टिंग एक्टर जारी गर्ने , वित्तीय समस्यामा परेका उपभोक्ता, लघु, साना तथा मझौला उद्योगहरू र अन्य संगठित संस्थाहरूलाई समेट्ने गरी आधुनिक प्रावधानहरू सहितको नयाँ दामासाही सम्बन्धी ऐन जारी गर्नु पर्ने उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया