
काठमाण्डौ । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकताका लागि दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरेका छन् । जनमत र नाउपाबाट तीन/तीन जना हुने गरी प्रतिस्थापन समिति बनाएका हुन् । कार्यदलले दुई दलको विधानलाई प्रतिस्थापन गर्ने गरी नयाँ विधान तयार गर्ने छ । दुई दलबाट ५०/५० प्रतिशत सङ्ख्या हुने गरी केन्द्रीय समिति बनाउने सहमति जुटिसकेको छ ।
हिजो बर्दियामा भएको दुई दलको वार्ताले वैशाख १५ गतेभित्र एकता गर्ने सहमति गरेको हो । एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र कार्यकारी अध्यक्ष डा.सीके राउत हुने सहमति भएको छ । यस्तै रेशम चौधरी पार्टीको संरक्षक र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ एकीकृत दलमा सह अध्यक्ष बन्ने सहमति भएको छ । पार्टीको वरियतामा चौधरी पहिलो, राउत दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहने छन् ।
यस्तै चितवन पूर्व सिके राउतले नेतृत्व गर्ने र चितवन पश्चिमको पार्टी कामको जिम्मा चौधरीले लिने समझदारी भएको छ । रेशम चौधरीले जेलमै रहेका बखत २०७८ सालमा नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको हो । एकिकृत पार्टीको चुनाव चिह्न ढकिया हुनेछ ।
त्यस्तै पार्टीको झन्डा आयाताकार र कलेजी रङ्गको पृष्ठभूमिमा सेतो पिँधसहितको ढकिया रहनेछ । एकीकृत पार्टीको केन्द्रीय समिति सात सय सदस्यीय हुनेछ । प्रतिनिधि सभामा जनमतका छ सांसद र नाउपाका चार जना सांसद छन् ।
पार्टी एकतापछि प्रतिनिसिध सभामा रहेका मधेसवादी दलहरु मध्ये सबैभन्दा ठूलो दल उनीहरुको हुनेछ । जनमतले मधेस सरकारको नेतृत्व गरिरहेको छ । मधेसमा जनमतको १३ र नाउपाको एक जना सांसद छन् । सुदूरपश्चिम प्रदेशमा नाउपाका सात जना सांसद छन् । लुम्बिनीमा नाउपाको चार र जनमतको तीन जना सांसद छन् ।
तपाईको प्रतिक्रिया