शनिबार ३० चैत २०८१
समाज

दुर्गा प्रसाईंले आत्मसमर्पण गरेको हल्लाः प्रहरी भन्छ– ‘पक्राउ परेका छैनन्’

बिहीबार चैत २८, २०८१/ Thursday 04-10-25

काठमाडौं। चैत १५ मा भएको राजावादी आन्दोलनपछि भूमिगत रहेका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले भारतको आसाम राज्यमा आत्मसमर्पण गरेको दाबी गरिएको छ। तर, नेपाल प्रहरीले भने उनलाई हालसम्म पक्राउ नगरेको स्पष्ट पारेको छ।

प्रसाईंको सचिवालयद्वारा ‘दुर्गा प्रसाईं’ नामक फेसबुक पेजमा पोस्ट गरिएको सन्देशमा भनिएको छ, “हिजो मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं, र आज उपस्थित भयौं।”

स्रोतहरूका अनुसार, उनी भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि आजै कोशी प्रदेशको काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको छ।

प्रहरीको खण्डन

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले भने प्रसाईंको पक्राउसम्बन्धी दाबीको खण्डन गरेका छन्। “खै, कसले हल्ला चलायो। पक्राउ परेपछि औपचारिक रूपमा जानकारी दिनेछौं,” उनले बताएका छन्। प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत प्रसाईं हालसम्म पक्राउ नपरेको पुष्टि गरेको छ।

चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी आन्दोलन अन्तर्गत भएको प्रदर्शनमा दुर्गा प्रसाईं नेतृत्वकर्ताको रूपमा थिए। संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ महाअभियानमार्फत उनी उक्त आन्दोलनमा सक्रिय थिए।

प्रदर्शनमा हिंसा चर्किएपछि प्रहरीले सयभन्दा बढी गोली र ८ सयजति अश्रुग्यास प्रहार गरेको थियो। भिडन्तका क्रममा दुईजनाको मृत्यु र सयौंको संख्यामा घाइते भएको थियो। प्रहरीले उक्त दिन प्रहरीमाथि सवारी साधन चलाएर भागेको आरोप पनि प्रसाईंमाथि लगाएको छ।

घटनापछि उनी बीएबी ४२०८ नम्बरको स्कर्पियो चढेर भागेका थिए। भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज पुगेपछि उनी भारततर्फ गएको खुलेको थियो। भूमिगत अवस्थामै रहँदा पनि उनले सामाजिक सञ्जालबाट भिडियोमार्फत आफू काठमाडौंमै रहेको दाबी गर्दै आएका थिए।

 

तपाईको प्रतिक्रिया