शनिबार ६ बैशाख २०८२
समाज

आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

शुक्रबार बैशाख ५, २०८२/ Friday 04-18-25

जनकपुरधाम । यौन दुर्व्यवहार पश्चात मृत फेला परेकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी आनन्दीदेवी सदायको घटना प्रहरीले तीनसदस्य समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । सदस्यमा कार्यालयकै प्रहरी निरीक्षक विक्रम साह र अन्य एकजना हबल्दार रहेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी लालमणि आचार्यले जानकारी दिए ।

गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट पुस ९ गते यौन दुव्र्यवहार भोगेकी आनन्दी गत मंगलबार दिउँसो आफ्नै माइत घरमा मृत फेला परेकी थिइन् ।

उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारले जाहेरी ढिला दर्ता गरेको पाइएको छ । प्रहरीले घटना दर्ता लगायतका कुरामा ‘बेवास्ता’ गरेको विषय र मृत्युको कारणबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको डीआईजी आचार्यले जानकारी दिए । सदायलाई करणी गर्न खोज्नेहरू भागेका छन् । 

बुधबार नै समिति गठन गरेर अनुसन्धान थालिएको छ । मेडिकल रिपोर्टहरू आएपछि जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाउन समितिलाई जिम्मेबारी दिइएको उनले बताए ।

तपाईको प्रतिक्रिया