शनिबार ६ बैशाख २०८२
समाज

सुखानी वन क्षेत्रमा भेटियो ‘भिओलेट कुक्कू’ चरा

बुधबार बैशाख ३, २०८२/ Wednesday 04-16-25

काठमाडौं । नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट ३०० मिटर उचाइँमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् संघले जनाएको छ ।

चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेको थियो । सोहीदिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो ।

चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एंग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए । टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको संघले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेको थियो । चैत २८ गते सो चराको यकिन पुष्ट्याइँका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्यांक समितिमा पठाएको थियो । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्सँग पनि रायसुझाव संकलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा. तुलसी सुवेदीले जानकारी दिए ।

उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ । यो चरा भुटान, फिलिपिन्स, सिंगापुर, बंगलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीयरूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिंगापुरमा प्रजनन गर्छ । विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन् ।

योसँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्यामा एउटा प्रजाति थप भएको छ । अब नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९९ पुगेको छ । रासस

तपाईको प्रतिक्रिया