शनिबार ६ बैशाख २०८२
समाज

गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन

शुक्रबार बैशाख ५, २०८२/ Friday 04-18-25

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।

निवेदकहरूका अनुसार आइतबार नै पेसीमा चढाउनेगरी पुरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ । दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको दाबी निवेदकहरूले गरेका छन् ।

अधिवक्ता विशाल थापाले यसअघि गभर्नर नियुक्तिमा उमेर हद सम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएको विरूद्ध रिट दायर गरेका थिए। उक्त रिटमै समावेश हुनेगरी पूरक निवेदन परेको हो।

वैशाख २ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ६५ वर्षे उमेर हद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरी आइतबार छलफलका लागि दुबै पक्षलाई बोलाएको हो ।

अधिवक्ता थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई दोस्रो संशोधन गरेको थियो।

तपाईको प्रतिक्रिया