
काठमाडौं । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदल गठन गरिएको हो ।
कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा स्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ । नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्यांकन गरेर सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ ।
तीन सदस्यीय कार्यदलमा विज्ञका रूपमा दीपकमोहन भट्टराई र डा. सुरेश तिवारी सदस्य छन् । कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ ।
यसैगरी, वीरलाई डिजिटलाइजेसन गर्न देखिएका कठिनाइबारे सुझाव दिएर भावी योजनासमेत प्रस्ताव गर्न कार्यादेश दिइएको छ । अस्पतालका निर्देशक डा. दिलिप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए ।
तपाईको प्रतिक्रिया