बुधबार १ जेठ २०८२
राजनीति

गैरआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्

बुधबार जेठ १, २०८२/ Wednesday 05-14-25

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली संघलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बन्न आग्रह गरेका छन् । 

संघद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नभएको बताए । उनले संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे । 

“आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन,” उनले भने, “महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा यो विकास नहोस् ।”

प्रधानमन्त्री ओलीले नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति र परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने उद्देश्यबाट विचलित नहुन सुझाव दिए ।  

प्रधानमन्त्री ओलीले एनआरएनको वर्तमान अध्यक्ष डा.बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत् महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त समेत व्यक्त गरे । 

तपाईको प्रतिक्रिया