माओवादीलाई तीन पटकसम्म सरकारमा पुर्याउने कांग्रेस एमाले होइनन्: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएको बेलामा मध्यपहाडी लोकमार्गको प्रस्ताव गरेर अगाडि बढाएको बताएका छन् ।
आज (शनिबार) मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले माओवादीले प्रस्ताव गरेको मध्यपहाडी लोकमार्ग अहिले सम्पन्न हुने तयारीमा रहेको बताए ।
अध्यक्ष प्रचण्डले माओवादी कमजोर भएको खण्डमा नेपालका महिला, दलित, मजदुरहरु, किसान, आदिवासी, जनजातिहरुको अधिकार खोसिने सम्भावना रहेको बताए । उनले सबैलाई अधिकारसम्पन्न र शक्तिशाली बनाउन माओवादी केन्द्रलाई बलियो बनाइराख्नुपर्ने बताए ।
‘जबसम्म माओवादी केन्द्र बलियो रहन्छ, तबसम्म यो देशका महिला, दलित, मजदुरहरु, किसान, आदिवासी, जनजातिहरु सबै अधिकारसम्पन्न र शक्तिशाली हुन्छन् । माओवादी कमजोर भयो भने सबैको अधिकार खोसिने खतरा छ,’– उनले भने, ‘त्यस हुनाले हामीले तपाईँहरुलाई अपिल गरेका छौं– हाम्रो हात बलियो बनाउनुस् ।’
अध्यक्ष प्रचण्डले आफूसहित माओवादीलाई कुनै एमाले र कांग्रेसले सत्तामा नपुर्याएको दाबी गरे । अध्यक्ष प्रचण्डले गरिब, मजदुर, किसान र उत्पीडित वर्गले माओवादीलाई सत्तामा पुर्याको, तर माओवादीले तिनै वर्गको पक्षमा ध्यान दिन नसकेको पनि आफूहरुलाई अनुभूति भएर अहिले उनीहरुको पीडा र दुःख सुन्न अभियानमा जोडिएको बताए ।
तपाईको प्रतिक्रिया