कर्णाली विकास बैंकका पूर्व सिईओ राजेन्द्रवीर राय २.५ अर्ब हिनामिना प्रकरणमा पक्राउ

काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेन्द्रवीर रायलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।
रायलाई शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सीआईबीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङले जानकारी दिए। लामो समयदेखि फरार रहेका रायमाथि बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएको छ।
२०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष रहेका राय २०७६ देखि २०७९ सम्म सिईओको रूपमा कार्यरत थिए। यस अवधिमा उनी पटक–पटक सञ्चालक समितिको अध्यक्षसमेत बनेका थिए। सल्यान स्थायी घर भएका राय हाल बाँकेमा बसोबास गर्दै आएका थिए।
सीआईबीका अनुसार यस प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाह समेत अनुसन्धानको दायरामा परेका छन्।
प्रहरीका अनुसार, बैंकको ठूलो मात्रामा रकम अनियमित ढंगले चलाइएको, वित्तीय प्रणालीको दुरुपयोग गरिएको र संस्थागत भ्रष्टाचारको आशंका गरिएको छ। यस विषयमा विस्तृत अनुसन्धान जारी रहेको छ।
तपाईको प्रतिक्रिया