मंगलबार २० जेठ २०८२
समाज

बालाजु पौडीपोखरी सर्वसाधारणका लागि १० वर्षपछि खुला

आइतबार जेठ १८, २०८२/ Sunday 06-01-25

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित ऐतिहासिक पौडीपोखरी १० वर्षपछि सर्वसाधारणका लागि पुनः खुला गरेको छ। आइतबार (जेठ १८) काठमाडौं–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले पोखरीबाहिर पूजाआजा गरेसँगै औपचारिक रूपमा पोखरी सबैका लागि खुला गरिएको हो।

महानगरका अनुसार पोखरीमा ५० मिटर लम्बाइ, १८ मिटर चौडाइ र ३ देखि १० फिटसम्मको गहिराइ रहेको छ। यस पोखरीमा जम्मा १८ लाख लिटर पानी अट्ने क्षमता छ।

पानीको शुद्धताको लागि शुद्धीकरण प्लान्ट जडान गरिएको छ भने पीएच र क्लोरिन भ्यालु सन्तुलनमा राख्न स्वचालित डिजिटल प्रणाली प्रयोग गरिएको छ।

सुविधासम्पन्न बनाइएको यस पोखरीमा १५० जना दर्शक अट्ने क्षमता भएको बस्ने स्थान, व्यवस्थित शौचालय, स्नानघर, लकर, र वरिपरि काँडेतारसहितको सुरक्षा व्यवस्था गरिएको छ।

लामो समयसम्म बन्द रहेको पोखरी पुनः सञ्चालनमा आएपछि स्थानीयवासी र पौडी प्रेमीहरू खुसी व्यक्त गरेका छन्। अब यस स्थानलाई नियमित रूपमा खेलकुद र मनोरञ्जनका गतिविधिका लागि उपयोग गर्ने योजना महानगरको छ।

तपाईको प्रतिक्रिया