शनिबार १२ श्रावण २०८१
मनोरन्जन

सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने ललितपुर महानगरपालिकाका मेयर महर्जनको घोषणा

शनिबार श्रावण १३, २०८०/ Saturday 07-29-23

काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका छन् ।

विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई चिडियाखानाको दृश्य दोहोर्‍याई, तेहर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए ।

त्यसैगरी मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाइगर गेट बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाई थियो ।

कार्यक्रममा मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया