आइतबार २३ बैशाख २०८१
बिजनेस

आज विश्व पर्यटन दिवस : त्रिभुवन विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्री किरातीले स्वागत गर्दै

बुधबार असोज १०, २०८०/ Wednesday 09-27-23

काठमाण्डौ । आज ४४औँ विश्व पर्यटन दिवस, ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । दिवस मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्री किरातीले स्वागत गर्ने कार्यक्रम छ ।

यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरि गरिनेछ । पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रम हुनेछ । विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपमा रहेको पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटनलाई चलायमान बनाउन दिवसका अवसरमा हुने गतिविधिले सहयोग पुग्ने बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले दिवसका अवसरमा गरिने कार्यक्रमले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार सङ्घको अगुवाइमा आज पोखरामा विशेष कार्यक्रम हुँदैछ । कोभिड–१९ महामारीबाट तीन वर्ष शिथिल बनेको पर्यटन क्षेत्र झण्डै पुरानै लयमा फर्किएको छ । पर्यटन बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुनेछ । विश्व पर्यटन सङ्गठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ ।

विश्वव्यापी रुपमा नेपालसहित ९५ प्रतिशतसम्म पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार तीन सय पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख २० हजार ८५ मात्र छ ।

सन् २०१९ मा अहिलेसम्मकै धेरै ११ लाख ९७ हजार १ सय ९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।  नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन शुरु भएको छ । दशैँ, तिहार, छठलगायत पर्वले पर्यटन क्षेत्रमा रौनकता बढाउछ । विश्व पर्यटन दिवसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्ने व्यवसायीले बताएका छन् । हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया