जाँडरक्सी खाएका साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको ज्यान गयो

काठमाण्डौं। जाँडरक्सी खाएका साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक जना नेपाली युवकको ज्यान गएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा ज्यान गएको हो ।
शान्तियागोमा रहेको लिटरोल अलेन्टेजानो अस्पतालमा अस्ति बिहीवार क्षेत्रीको उपचारका क्रममा ज्यान गएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिनुभयो ।
पोर्चुगलको ओडिमिरा बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गएको मङ्गलवार राति छुरा प्रहार गरेका थिए।
जाँडरक्सी खाएर मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलमा रहेका अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो । गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल पुगेका हुन् । उनीहरु दुवै जना ओडिमिराको एउटा कृषि कम्पनीमा कार्यरत थिए ।
तपाईको प्रतिक्रिया