शनिबार २७ बैशाख २०८२
राजनीति

देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव: मन्त्री शर्मा

सोमबार मङ्सिर १८, २०८०/ Monday 12-04-23

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका- २ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रुपान्तरण सम्भव हुने दाबी गरिन् ।

देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरु कसैले गर्न नसक्ने उल्लेख गर्दै उनले माओवादीले जितेका सबै तहका सरकारले नमुना काम गरिरहेको बताइन् ।

माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको बताइन् ।

विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु, मल आपूर्ति सहज बन्दै जानु, सेवा प्रवाहका कार्यालयहरुमा लाइनमुक्त बन्दै जानुले सेवा प्रवाहको क्षेत्रमा आशा जगाएको उनको भनाइ थियो ।

मन्त्री शर्माले नक्कली भूटानी शरणार्थी, सुनकाण्ड जस्ता ठूला भ्रष्टाचारका घटनामा सरकारले लिएको अडानले सुशासनको क्षेत्रमा नयाँ सन्देश दिएको बताइन् । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले काम गर्ने क्रममा भएका कमीकमजोरीप्रति माफी मागेर अघि बढ्न नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।

उनले सबै छरिएका माओवादी एक भएर जनतालाई गोलबन्द गर्नुपर्ने अहिलेको आवश्यकता भएको जनाइन् । २०६४ सालमा माओवादीलाई पहिलो शक्ति बनाए पनि त्यसपछि जनताले माओवादीको फुट र विभाजन मन नपराएको उल्लेख गर्दै उनले परिवर्तनकारी शक्तिबीचको एकता अनिवार्य भएको बताइन् ।

माओवादीसित जनता एजेन्डाका कारण नभइ माओवादीकै नेता कार्यकर्ताको शैलीका कारण रिसाएको उनले स्पष्ट पारिन् ।

‘राजनीतिलाई पेशा होइन, सेवाको रुपमा स्थापित गर्नुपर्छ । महिला, मधेशी, जनजाति, दलितलगायत पछाडि पारिएका समुदाय माओवादीको एजेन्डाकै कारण शासन सञ्चालन गर्ने हैसियतमा पुगेका हुन्’, मन्त्री शर्माले भनिन्, ‘यसलाई पार्टीको मात्रै होइन, देशकै पूँजीको रुपमा लिनुपर्छ । जनताले अघि सारेका जायज माग पूरा गर्न इमानदारीपूर्वक लाग्नुपर्छ । पूरा गर्न नसके त्यसको कारण पनि जनतासमक्ष इमानदारीपूर्वक राख्नुपर्छ ।’

सभाकै क्रममा उनलले एमाले सरुमारानी गाउँ कमिटी सदस्य चिन्ताबहादुर लोहारसहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउँदै सदस्यता प्रदान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया