शनिबार १२ श्रावण २०८१
अर्थ

नेपालको आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

मंगलबार चैत २०, २०८०/ Tuesday 04-02-24

काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

बैंकले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि गएको वर्षको तुलनामा सुधार हुने देखाएको हो । गएको आर्थिक वर्ष नेपालको वृद्धि १ दशमलव ९ प्रतिशतमात्रै थियो । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै आउँदो आर्थिक वर्षमा देशको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

निजी क्षेत्रको लगानी न्यून भए पनि पर्यटन क्षेत्रको पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले नेपालको वृद्धिलाई सघाउने विश्व बैंकले जनाएको छ । तर भारत, खाडीका देश र मलेसियाजस्ता देशहरूको सुस्त आर्थिक वृद्धिका कारण रेमिट्यान्स र पर्यटन आयमा गिरावट आउन सक्ने जोखिम पनि रहेको विश्व बैंकको निष्कर्ष छ । बैंकले व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।

विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले आर्थिक वृद्धिदर र गरिबी न्यूनीकरणमा सरकारले पुँजीगत खर्च कार्यान्वयनमा जोड दिनुपर्ने, व्यावसायिक मनोबल बढाउनुपर्ने र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनुपर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया