शनिबार १२ श्रावण २०८१
समाज

बानेश्वरमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा

मंगलबार जेठ १, २०८१/ Tuesday 05-14-24

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ । मंगलबार काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरु बिगार्न नहुने बताए । उनले सार्वजनिक सम्पतीको रक्षा गर्ने दायित्व सबैको भएको बताए । उनले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएको उल्लेख गर्दै यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा पर्नु नहुने बताए । केसीले बिसौनीको संरक्षणका लागि स्थानीयदेखि सबैले चनाखो हुन जरुरी रहेको बताए ।

उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भएपनि यस्ता संरचना बिगार्नु हुँदैन । हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरुसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’

सो क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ रहेको बताइएको छ । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । 

तपाईको प्रतिक्रिया