शनिबार १२ श्रावण २०८१
राजनीति

सुदूरपश्चिममा एमालेले सोडारीलाई समर्थन गर्ने तर सरकारमा नजाने

बुधबार जेठ २, २०८१/ Wednesday 05-15-24

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाईविश्वासको मत दिने भएको  छ । 

सोडारीले बिहिबार विश्वासको मत लिने कार्यक्रम छ । उनलाई एमालेले समर्थन मात्र गर्ने तर प्रदेश सरकारमा सहभागी नहुने बताएको छ । 

यसबारे सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने, ‘हामीले संसदीय दलको बैठक राखेर अहिले सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौँ । सरकारमा सहभागी हुने-नहुने विषय उठेको छैन ।’ 

उनका अनुसार विकसित घटनाक्रमलाई हेरेर मात्र एमाले सरकारमा सहभागी हुने भएको छ । 

वैशाखको अन्तिम साता दुई पटक विश्वासको मत लिन लागेका सोडारीलाई एमालेले दुई पटक नै दिएको थिएन । 

बझाङ उपनिर्वाचनमा विजयी भएका दामोदर भण्डारीको बुबाको काज किरियालाई देखाएर एमालेले हलो अड्काएको थियो । 

कोशीमा एकीकृत समाजवादीले एमालेका हिक्मत कार्कीलाई विश्वासको मत दिएपछि एमालेले सुदूरपश्चिममा पनि समाजवादीलाई गुन तिर्न लागेको हो ।

तपाईको प्रतिक्रिया