शुक्रबार २ कार्तिक २०८१
राजनीति

तीन दलका शीर्ष नेताको बैठक : सर्च कमिटीलाई पूर्णता दिन शीर्ष नेताहरु सहमत

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24

काठमाडौं । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि गठन गरिएको ‘सर्च कमिटी’ (सिफारिस समिति) लाई पूर्णता दिने समझदारी गरेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको तीन ठूला दलका शीर्ष नेताहरूको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि गठन गरिएको ‘सर्च कमिटी’ लाई पूर्णता दिने समझदारी गरेको हो । 

बैठकपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले अघिल्लो सरकारको पालमा गठन भएको ‘सर्च कमिटी’ लाई पूर्णता दिएर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग टीआरसी गठन प्रक्रिया अगाडि बढाउने समझदारी जुटेको बताए । 

बस्नेतले एक–दुई दिनभित्रै ‘सर्च कमिटी’ ले पूर्णता पाउने र त्यसलगत्तै आयोग गठनको प्रक्रिया औपचारिक रूपमा सुरू हुने पनि बताए ।

‘सर्च कमिटी गठन भएको निश्चित समयभित्र आयोग गठनको काम टुंगिनु पर्ने कानूनी वयवस्था नै छ,’ उनले भने, ‘त्यस कारण कमिटी गठन पछि स्वतः आयोग गठनको प्रक्रिया अगाडि बढ्छ । र निर्धारित समयभित्रै आयोगहरूले पूर्णता प्राप्त गर्छन् ।’

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया