बिहीबार १ कार्तिक २०८१
समाज

निलम्बित प्रहरी निरीक्षक बिनु शाहीविरूद्ध पक्राउ पुर्जी जारी

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24

काठमाडौं । प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन् । थुनामा हुनेमा सुस्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेका हुन् । 

घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ  । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । यसअघि गृह मन्त्रालयले शाहीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया