बिहीबार १ कार्तिक २०८१
समाज

काठमाडौंमा एक पुरूषको हत्या, तीन जना पक्राउ

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24

काठमाडौं। व्यक्ति हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, मंगलबार अपराह्न ३:२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए ।

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो ।

 

तपाईको प्रतिक्रिया