शनिबार ८ असार २०८१
राजनीति

प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैन : महामन्त्री थापा

शनिबार असार १, २०८१/ Saturday 06-15-24

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन्।

शनिबार नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको बताएका हुन्। 

उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए । 

उनले भने, ‘अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो । सकियो । खत्तम भयो । नेता चोर । पार्टी चोर भयो । भोलि पनि बन्दैन । पर्सि पनि बन्दैन भन्ने कुरा के ले लिएर आउँछ भने अर्थतन्त्रको हिसाबकिताब बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जाने वाला छ । हामी प्रतिपक्षमा छौँ । सरकार मुलत: एमाले र माओवादी पार्टीहरूको सरकार छ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन । खेलो फड्को गर्ने, प्रधानमन्त्री यता आए पनि बन्ने । उता आए पनि बन्ने । बनिराख्ने भन्ने छ । त्यसैले अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिग्रँदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन । किनभने योभन्दा एक वर्ष अगाडी उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ । त्यो बेलामा पनि राम्रो भएन । तर त्यो राम्रो नभएको हिसाबकिताब उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनु भयो, काँग्रेसको मानिसहरू थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन ।’ 

महामन्त्री थापाले नयाँ राजनीतिक दलहरूले लोकरिझ्याँइ बाहेक केही नगर्ने पनि बताए । उनले नयाँ राजनीतिक दलका मन्त्रीहरू जिम्मेवारी अनुसारको काम नगरी सामाजिक सञ्जालमा लाइक बढाउने काममा मात्रै लागेको आरोप लगाए । 

तपाईको प्रतिक्रिया