बिहीबार २७ भदौ २०८१
शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

शुक्रबार श्रावण १८, २०८१/ Friday 08-02-24

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । 

नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट छानिएको थियो । 

२०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए  भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएका थिए । 

बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ । 

माध्यमिक शिक्षाका लागि २०७८ सालमा नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको थियो । यस अघिसम्म कक्षा १२ को नतिजा मात्रै उक्त निर्देशिका अनुसार सार्वजनिक हुँदै आएको थियो । 

तपाईको प्रतिक्रिया