सडक भासिएपछि बालेको प्रतिक्रियाः ‘खोलामाथि घर र बाटो बनाउने होइन’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकिएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले सो कुराको जानकारी दिएक छन् ।
उनले टुकुचा खोलामाथि अझै केही घरहरु रहेको बताउँदै सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
टुकुचा खोलामाथिको एकतर्फी सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। काठमाडौं महानगरपालिकाको कार्यालय नजिक भ्वाङ परेको सडक टाल्न सडक विभागको टोली त्यसतर्फ जान लागेको बताइएको छ ।
महानगरको कार्यालय नजिकै सडक भासिएपछि मेयर बालेन्द्र शाहले समाजिक सञ्जालमा सडकमा भ्वाङ परेको भिडियो सार्वजनिक गर्दै अझै केही घरहरु टुकुचाको चपेटामा पर्दै जाने उल्लेख गरेका उनले महानगरले जोखिम देखेर नै केही समय पहिला खोला खोल्ने काम सुरु गरेको उल्लेख गरेका छन् । अदालती कारणले उक्त कार्य केही रोकिएको र टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानूनबमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका उनले उल्लेख गरेका छन् ।
सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने जानकारी गराएका छन् । ‘सबैलाई थाहा हुनैपर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन,’– उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया