मंगलबार १ असोज २०८१
राजनीति

एमालेको फुट बुढाबुढीको झगडा ! अब मिलौं

मंगलबार भदौ १८, २०८१/ Tuesday 09-03-24

काठमाडौं। नेपालको नक्सामा कञ्चनपुर जिल्ला सुदूरपश्चिमको अन्तिम कुनोमा पर्छ । पहाडी जिल्ला दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम लगायतका जिल्लाका मानिसहरुको बसोबास छ तराईको कञ्चनपुरमा ।

कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद तारा लामाको परिवार भने धादिङबाट कञ्चनपुर पुगेको हो । धादिङको झालाङमा ठूलो पहिरो गएपछि उनको परिवार कञ्चनपुर क्षेत्र नम्बर १ पुगेको हो ।

सुख्खा पहिरो गएपछि राजा महेन्द्रले पुनर्बास कार्यक्रम अन्तर्गत त्यहाँका स्थानीयलाई जग्गा दिएर कञ्चनपुर पुर्‍याएका थिए । वीरेन्द्र राजाका पालामा ०२८ सालदेखि ०३८ सालसम्म कञ्चनपुरमा विभिन्न जिल्लाबाट १० हजार घरपरिवारलाई पुनर्बास गराइयो । पुनर्बास बस्तीमा राना, थारुका साथमा तामाङ र क्षेत्रीबाहुन लगायत पहाडे समुदायको पनि बाक्लो बसोबास छ ।

त्यहीँबाट हुर्किएका तारा लामा एमालेका तर्फबाट प्रतिनिधिसभाको सांसद बनेका छन् । उनले प्रचण्डकी बुहारी एवं माओवादी नेतृ बिना मगरलाई चुनाव हराएका हुन् ।

धादिङबाट ०३६ सालमा कञ्चनपुर पुगेका लामाले पुनर्वास कार्यक्रम अन्तर्गत स्थापना भएको स्कुलमा पढ्न सुरु गरे । ०४३ सालमा उनी ५ कक्षा पढ्थे । त्योबेला राजाको जन्मदिन मनाउने क्रममा भाषण गर्दा शिक्षकहरुले ‘तँ नेता बन्छस्’ भनेको लामाले बिर्सेका छैनन् ।

नौ कक्षामा पढ्दा लामा पूरै राजनीतिमा लागिसकेका थिए । एसएलसी सकेपछि उनी साइन्स पढ्न ०४९ सालमा सिद्धनाथ विज्ञान क्याम्पस कञ्चनपुरमा भर्ना भए । ०५१ मा आईएस्सीको परीक्षा लेखेपछि उनी गाउँमै शिक्षक भए । तीनवर्ष शिक्षण पेशा गरेर ०५४ सालमा एमालेबाट कालिका गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । त्योबेला उनी २३ वर्षका थिए ।

लामा ०७४ सालमा सुदूरपश्चिम प्रदेशको सांसद र मन्त्रीसमेत भए । र, उनी ०७९ को निर्वाचनमा कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

लामाले ०७९ मा निकटतम प्रतिद्वन्द्वी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित पराजित गरे । लामाले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मत ल्याइन् ।

लामा प्रदेशसभा सदस्य रहेकै बेला ०७७ सालमा एमाले फुट्यो । तीन दिन रोएर माधव नेपाल पक्षमा खुलेका लामा अनुभव सुनाउँछन्, ‘मैले त्योबेला एमाले छाडेर गल्ती गरेछु ।’

तपाईको प्रतिक्रिया