मंगलबार १ असोज २०८१
राजनीति

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : जनयुद्ध महान थियो भने किन छोडेर आएको ?

शनिबार भदौ २२, २०८१/ Saturday 09-07-24

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा २१औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे । देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार भएको बताए ।

केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनु पर्‍यो शान्ति प्रक्रियामा ? त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नु पर्दथ्यो ।’ 

उनले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरू लाद्न खोजे देशले स्वीकार नगर्ने बताए । झापा आन्दोलनताका आफूले लिएका नीतिहरू पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्तिप्रक्रियामा आएको उल्लेख गरे ।

आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् हुनु नहुनेमा उनले जोड दिए । हरेक नागरिकका न्यायोचित इच्छा र आकांक्षा सम्बोधन हुनुपर्ने ओलीको भनाइ छ । ओलीले देशको अर्थतन्त्र माथि उठाउन सबैले मिलेर काम गर्नुपर्ने बताए । त्यसो गर्दा देश र सबै देशवासीको अवस्था माथि उठ्ने उनले दाबी गरे । सबैको साझा प्रयासले राजश्व असुलीलगायत देशको आर्थिक अवस्था बिस्तारै माथि उठ्न लागेको ओलीले बताए । यो सबैको प्रयासबाट सम्भव भएको ओलीले प्रष्ट पारे । 

ओलीले कर्मचारी राष्ट्रका मेरुदण्ड भएका बताए । राम्रा वा नराम्रा जुनसुकै काममा कर्मचारीको साथ नलिई राजनीतिक मानिसहरूले केही गर्न नसक्ने ओलीले बताए । ‘तपाईहरूलाई प्रयोग नगरी हामी त केही गर्नै सक्दैनौँ, भ्रष्टाचार गर्न पनि तपाईहरूलाई प्रयोग गर्नुपर्छ, तपाईहरू भ्रष्टाचारमा किन सहभागी हुने, त्यस्तो कुकर्ममा सहभागी नहुनुस’, ओलीले भने । ओलीले मान्छेलाई एकछिन अलमल्याएर देश नबन्ने बताए । देश बनाउन लामो सोच हुनुपर्ने उनले स्पष्ट पारे । अहिले देश र लोकतन्त्रको लागि योगदान गरेका दुईवटा पार्टीको सरकार भएकोले सकारलाई काम गर्न त्यति अप्ठेरो नभएको ओलीले बताए ।

संख्याको हिसाबले तानतुन गरेको सरकार नभएकोले अहिलेको सरकारलाई काम गर्न सहज भएको उनले प्रष्ट पारे । संसदमा आएको निजामती सेवा ऐन संशोधन गरेर सरकार अघि बढ्ने उनले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया