शनिबार ५ असोज २०८१
समाज

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

शुक्रबार असोज ४, २०८१/ Friday 09-20-24

काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए ।  उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई  दिएका छन् ।

कार्यवाहक अध्यक्ष विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने गरी मिति तोकेका थिए।

असोज ४ गतेका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो। तर उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम स्थगित गरिएको थियो। विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै राजीनामा पत्र शुक्रबार महासंघको केन्द्रीय कार्यालयमा पठाएका हुन्।

‘नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सम्पन्न भएको ६ महिनासम्म पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन नसकेको विधितै छ। सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेको पृष्ठभूमिमा मैले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ,’ राजीनामा पत्रमा उनले भनेका छन्, ‘महासंघको विधानको पालना हुन नसक्दा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको अधिकार र लोकतन्त्रको पहरेदार रुपमा झण्डै ७० वर्षदेखि खडा मुलुकुको अग्रणी संस्थाको यो अवस्था सृजना भएको हो भन्ने कुरा प्रष्ट छ। पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भातृ संस्थाहरुले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको सबैका सामु छर्लङ्ग छ।’

पत्रकार महासंघलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाई आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्वहरूले पनि महासंघको निर्वाचनलाई अनिश्चित बनाउँन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य रहेको उनले बताए।

‘सहजै निर्वाचन हुने परिस्थितीमा पनि निर्वाचन भाँड्न दिएको दवाव र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन्। पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्तासमिकरणको शिकार समेत पत्रकार महासंघ बन्न पुग्यो। दलगत रुपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित–हारलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराएको छ। सानाठूला जस्ता विषयमा पनि महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश र जिल्ला शाखाहरुमा तालाबन्दी गर्ने प्रवृति फेशनकै रुपमा अघि बढ्यो। अब इतिहासकै कठिन मोडमा पुगेको पत्रकार महासंघको गिरेको साख फिर्ता ल्याउन लामो समय र परिश्रम लाग्ने निश्चत छ,’ उनले भने।

उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्‍यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिउको विज्ञप्तिमा उल्लेख गरेका छन्।

कार्यवाहक अध्यक्ष विष्टले विहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । 

तपाईको प्रतिक्रिया