कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था समस्या उन्मुख रहेको भन्दै आज (मंगलबार) देखि बैंकको कारोबार रोक लगाउने निर्णय गरेको हो ।
बैंकले गत साउनमा गरेको सुपरिवेक्षणका क्रममा बैंकले तोकेबमोजिमको पुँजीकोष अनुपात कायम नगरेको तथा निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको पाइएको र यसले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले कर्जा दिने र ऋण लिने कार्यमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालगन्जमा रहेको यस विकास बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको छ ।
यो अवस्थामा राष्ट्र बैंक ऐनले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली अनुसार ६ महिनाभित्र सुधार गर्नेगरी शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको हो । उक्त बैंकले असार मसान्तको वित्तीय विवरणमा निष्क्रिय कर्जा ७ प्रतिशत मात्रै रहेको देखाएको थियो । लगत्तै स्थलगत अनुगमन गर्दा निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पाइएको राष्ट्र बैंकले जनाएको छ।
तपाईको प्रतिक्रिया