शनिबार १३ पौष २०८१
समाज

दुईतिहाइको सरकार हुँदा पनि तीनकुनेको मुआब्जा प्रक्रिया अघि बढेन : मेयर बालेन

शुक्रबार पौष १२, २०८१/ Friday 12-27-24

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेस्थित व्यक्तिबाट सरकारले कब्जा गरेको जग्गाको मुआब्जा अहिलेसम्म नदिएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । कोटेश्वर महोत्सवलाई शुक्रवार सम्बोधन गर्दै मेयर शाहले पचासौँ वर्षदेखि व्यक्तिको जग्गा लुटिए पनि सरकारले त्यसबारे चासो नदिएको बताएका हुन् । 

मेयर शाहले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमै रहँदा समेत मुआब्जा विवाद समाधान नभए कहिल्यै नहुने तर्क गरे । 

‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन’, उनले भने, ‘व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । मुआब्जा दिन चाँडै प्रक्रिया होस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ ।’ 

उनले पचासौँ वर्षदेखि जग्गा कब्जा हुँदा पनि सरकारबाट आश्वासनमात्रै प्राप्त भएको धारणा राखे । कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले स्थानीयलाई सुझाव दिए । 

तपाईको प्रतिक्रिया