तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
दमौली। तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ ।
प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण गरिरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
मुआब्जा निर्धारण समितिबाट निर्माण कार्यका कारण क्षति पुगेका ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ घरपरिवारका घर तथा संरचनाको क्षतिपूर्ति निर्धारण गरेपश्चात् ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण भइसकेको भण्डारीले बताए ।
भण्डारीका अनुसार क्षति भएका घरको अनुगमनपश्चात् अधिकतम रू तीन लाख र न्यूनतम रू दश हजार क्षतिपूर्ति तोकिएको छ । उनले भने,शासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको क्षतिपूर्ति रकम वितरण भइरहेको छ ।” संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयवासीबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इन्जिनियर, आयोजनाका इन्जिनियरलगायत सदस्य थिए ।
आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको काम भइरहेको छ । यस प्याकेजअन्तर्गतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म यो प्याकेजको प्रगति ३५ दशमलव ८ प्रतिशत रहेको भण्डारीको भनाइ छ ।
तपाईको प्रतिक्रिया