बुद्ध एअरको आपतकालीन ढोका खोल्ने दुई जना यात्रुलाई जरिमाना
काठमाण्डौ । बुद्ध एअरले विमानको आपतकालीन ढोका खोल्ने दुई जना यात्रुलाई जरिमाना तिराएको छ । दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख जरिमाना तिराइएको बुद्ध एअरले जनाएको छ ।
कम्पनीका अनुसार जरिमानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई एक/एक लाख सहयोग गरिएको बुद्ध एअरले जनाएको छ ।
अस्ति बुधवार पोखराबाट काठमाण्डौ उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो विमान उडेको थियो ।
यसैगरी गएको असोज २४ गते काठमाण्डौबाट जनकपुरका लागि बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो ।
जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको आपतकालीन ढोका खोलेका थिए । त्यसपछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए । विमानको प्राविधिक जाँचका लागि काठमाण्डौबाट प्राविधि समूह गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो ।
यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो । अनाहकमा आपतकालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुलाई अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा एक लाख क्षतिपूर्ति तिराइएको बुद्ध एअरले जनाएको छ ।
आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रुपमा जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ ।
हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २)१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।
तपाईको प्रतिक्रिया