शुक्रबार ३० जेठ २०८२
समाज

प्रहरी फन्दामा दिलभूषण पाठक, ५ वर्षसम्म कैद सजायको सम्भावना

बुधबार जेठ २८, २०८२/ Wednesday 06-11-25

काठमाडौं। विवादित छविका पत्रकार दिलभूषण पाठकमाथि साइबर अपराध अन्तर्गतको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्युरोले विद्युत् (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गर्दै अदालतबाट अनुमति लिएर उनलाई खोजी कार्य थालेको हो।

तीन साता अघि पत्रकार पाठकले आफ्नै युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’ मार्फत कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा र काठमाडौंस्थित पाँचतारे होटल हिल्टन सम्बन्धी भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। उक्त रिपोर्टलाई लिएर जयवीर देउवाले साइबर क्राइमको उजुरी दिएका थिए।

पाठकले आफ्नो युट्युब च्यानलमार्फत पहिले नै सार्वजनिक भइसकेका समाचारहरू संकलन गर्दै त्यसमा व्यक्तिगत विचार, विश्लेषण र टीकाटिप्पणी गर्दै आएका थिए। तर पछिल्लो रिपोर्टले विवाद सिर्जना गर्दै साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गराउने स्थिति निम्त्याएको हो।

प्रहरी स्रोतका अनुसार भिडिओ सामग्री आपत्तिजनक र तथ्यहीन भएको आरोपमा मुद्दा अगाडि बढाइएको हो। साथै, पत्रकार पाठकले प्रयोग गरेको युट्युब च्यानल दर्ता समेत नभएको हुनाले यसले पत्रकार आचारसंहिता र कानुन उल्लङ्घन गरेको ठहर प्रहरीको छ।

नेपालमा कसैले युट्युबमार्फत केवल व्यक्तिगत मनोरञ्जन, ब्लग, शैक्षिक सामग्री, वा गैर-समाचार सामग्री मात्र प्रसारण गर्दै हुनुहुन्छ भने औपचारिक दर्ता अनिवार्य छैन । तर यदि उद्देश्य सूचना, समाचार वा जनसरोकारका गम्भीर विषयहरू सार्वजनिक गर्ने हो भने अनिवार्य रूपमा सूचना विभाग र प्रेस काउन्सिल दुबैतिर दर्ता गर्नु कानुनी रूपमा अनिवार्य छ।

स्रोतका अनुसार, विद्युतीय कारोबार ऐन अन्तर्गत दोषी ठहरिएमा पत्रकार पाठकलाई ५ वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ।

 

तपाईको प्रतिक्रिया