
काठमाडौं । सामान्य मितिभन्दा १५ दिनअघि कोशी प्रदेशमा प्रवेश गरेको मनसुन बलियो न्यूनचापीय क्षेत्रका कारण पूर्वी एसियातिर फर्किएको छ। मौसमविद्हरूका अनुसार मनसुनी वायु फिलिपिन्सतिर सोहोरिएकाले नेपालमा फैलिन सकेन।
जेठ १७ गते पूर्वी नेपालमा भारी वर्षा र बाढी आए पनि त्यसपछि वर्षा रोकिएको छ। पश्चिमी वायु सक्रिय रहेकाले मनसुन आउन अझै ढिलाइ हुने देखिएको छ। यसले कतै अत्यधिक वर्षा र कतै खडेरीको जोखिम बढाएको मौसमविद् गोविन्द झाले बताए।
बङ्गालको खाडी र भारतको मध्यभागमा नयाँ न्यूनचापीय प्रणाली विकसित हुँदैछ, जसको असर नेपालमा आगामी दिनमा देखिने अनुमान छ। विपद् प्राधिकरणले यस वर्ष २० लाख मानिस प्रभावित हुने पूर्वानुमानसहित राहत तयारी अघि बढाएको छ।
तपाईको प्रतिक्रिया