बुधबार ९ माघ २०८१
समाज

सुप्रिम सहकारी ठगी प्रकरण : रूपन्देही अदालतमा रविसहित १४ जनाविरूद्ध मुद्दा दर्ता गर्ने तयारी

बिहीबार माघ ३, २०८१/ Thursday 01-16-25

बुटवल । सुप्रिम सहकारीको बचत रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध जिल्ला अदालत रूपन्देहीमा पनि मुद्दा दर्ता हुने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले सहकारी ठगी र संगठित अपराध कसुरमा रविविरूद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो। बुधबार काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन कसुरमा ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

उक्त आदेशपछि रिहा भएका लामिछानेविरूद्ध रूपन्देहीमा पनि मुद्दा दर्ता हुन लागेको हो। पूर्व डिआइजी छविलाल जोशीसहित १४ जनाविरूद्ध मुद्दा दायर गर्न लागेको हो। 

जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीका सूचना अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले रविविरूद्ध बिहीबार मुद्दा दर्ता गर्ने तयारी रहेको बताइन्। 

इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुझाएको थियो।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि गत कात्तिक २७ गतेदेखि २९ गतेसम्म जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा पुगेर लामिछानेले बयान दिएका थिए।

तपाईको प्रतिक्रिया