बुधबार ९ माघ २०८१
राजनीति

सातामा दुई दिन खुला भेटघाट गर्न कांग्रेस मन्त्रीहरुलाई देउवाको निर्देशन

बिहीबार माघ ३, २०८१/ Thursday 01-16-25

काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपा पुग्न भनेको छ।

पार्टी कार्यकर्ताहरूले मन्त्रीहरूले गुनासा नसुनेको भनेपछि कांग्रेसले मन्त्रीहरूलाई सातामा पाँच दिन मन्त्रालयमा बस्न र कम्तिमा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पुग्न आग्रह गरेको हो।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा बोल्दै सभापति देउवाले मन्त्रीहरूलाई दुई दिन केन्द्रीय कार्यालयमा पुग्न भनेका हुन्।

“हामीले मन्त्रालयगतरूपमा आआफ्ना कमको ब्रिफिङ गर्‍यौँ । पाँच दिन मन्त्रालयको काम र दुई दिन सर्वसाधारणका लागि छुट्याउने निर्देशन भएको छ,” कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासीयाले भने,  “मेरो विभागीय जिम्मेवारी रहेको कानुन मन्त्रालयबाट बन्न बाँकी कानुनका विधेयक छिटो मन्त्रालयमा लैजाने र संसदीय प्रक्रियामा रहेका विधेयकलाई अघि बढाउन तीव्रता दिने भन्ने भएको छ ।” 

उनले ब्रिफिङमा मन्त्रीहरूले आआफ्नो मन्त्रालयमा भइरहेका काम र त्यसका लागि परेका प्राविधिक अप्ठेरा फुकाउन पार्टी नेतृत्वले गर्नुपर्ने सहयोगका विषय राखेको जानकारी दिए । सत्ता गठबन्धनका कारण समस्या भएको विषय भने कुनै पनि मन्त्रीहरूले नउठाएको उनको भनाइ छ ।

“राजनीतिकरूपमा सत्ता गठबन्धनमा बसेर काम गर्दा अप्ठेरो भएको विषय कसैले पनि उठाएको छैन,” मन्त्री चौरासियाले भने, “पार्टीबाट सातबुँदे सहमतिको स्प्रिटमा काम गर्न र आआफ्नो मन्त्रालयको प्रभावकारिता स्थापित गर्ने भूमिकाका लागि निर्देशन भएको छ ।” 

तपाईको प्रतिक्रिया