बुधबार ९ माघ २०८१
समाज

आज रूपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् ।बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज (बुधबार) अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ ।

कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो। उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्।

बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।

तपाईको प्रतिक्रिया