बुधबार ९ माघ २०८१
समाज

अदालतमा उपस्थित हुन भैरहवा पुगे रवि लामिछाने

मंगलबार माघ ८, २०८१/ Tuesday 01-21-25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा पुगेका छन् ।बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् । बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो उनी भैरहवा पुगेका हुन् ।

रविसहित ४२ जनालाई अभियुक्त बनाउँदै रूपन्देही जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता गरिएको थियो । 

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।

लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो ।

लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने र पूर्व डीआईजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जीबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो ।

तपाईको प्रतिक्रिया