विद्युत् प्राधिकरणको गल्तीले बबरमहलमा खानेपानीको पाइप फुट्यो : खानेपानी मन्त्री

काठमाडौँ । खानेपानी मन्त्रालयले बबरमहलमा खानेपानीको पाइप फुट्नुको दोष नेपाल विद्युत प्राधिकरणलाई लगाएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवले बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताएका हुन् ।
उनले पानी बन्द गर्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुखलाई निर्देशन दिइसकिएको पनि बताए । ‘अहिले करिब ५० प्रतिसत पानी घटिसकेको छ । मन्त्रालयका सचिव प्रमिलादेबि शाक्य, बज्राचार्य, केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरी सहित मन्त्रालयको टोलि पानी निकास र रोकथामका लागि बबरमहलमै छौँ’, उनले भने, ‘पानी जमेर त्यहाँ रहेका सवारीसाधनहरू डुबानमा परेको तथा आवतजावतमा समस्या उत्पन्न भएको खबर प्राप्त हुनासाथ, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लाई भल्भ बन्द गर्न तथा वासआउट खोल्न निर्देशन दिएको छु।’
बुधबार दिउँसो साढे २ बजेतिर बबरमहलको मुख्य सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो। पाइप फुट्दा बबरमहलमा रहेको वन कार्यालय, जिल्ला अदालत र विशेष अदालतका भवनलगायतमा डुबान भएको थियो।
तपाईको प्रतिक्रिया