शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएकी अञ्जान शाक्यले शिक्षा मन्त्रालयप्रति आफ्नो रूचि र विज्ञता दुवै नभएको बताएकी छन्।
शिक्षा मन्त्रीबाट सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि नयाँ शिक्षा मन्त्रीमा शाक्यको नाम चर्चा हुँदै आएको छ। नेकपा (एमाले) कै कतिपय पदाधिकारीले शाक्य अब शिक्षा मन्त्री हुने चर्चा गरेका थिए।
सोही आधारमा पूर्वराजदूतसमेत रहेकी शाक्य शिक्षा मन्त्री हुने खबरहरू आएका थिए।
केही सञ्चारमाध्यमहरुले आफ्नो नाम जोडेर भावी शिक्षामन्त्रीको रुपमा प्रचार गरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेकी छन् ।
‘केही सञ्चारमाध्ययममा म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । यो विषयमा मैले नवोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो । तर, मेरा शुभचिन्तक, मसँग सरोकार राख्ने र आफन्तहरुमा समेत यहि भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु,’– उनले भनिन् ।
उनले आफू भर्खरै अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको स्मरण गराउँदै नेपालको इज्जत र प्रतिष्ठा अन्तराष्ट्रियस्तरसम्म लैजाने भूमिकामा आफू रहेको बताएकी छन् । उनले पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने रहेको बताएकी छन् ।
तपाईको प्रतिक्रिया