
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने प्रयासको अन्तर्गत यो कदम चालिएको हो भन्ने स्रोतहरूले सीएनएनलाई जानकारी दिएका छन् ।
मंगलवारमा एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिएको थियो । यो सूचना सरकारी कार्यक्षमता विभाग (डोज) ले एमसीसीमा नियन्त्रण गर्न सुरु गरेको एक हप्तापछि मात्र आएको हो ।
एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी कटौतीको योजना अन्तर्गत कार्यवाहक प्रमुख कार्यकारी (एक्टिङ्ग सीईओ) बाहेकका सबै कर्मचारीहरू हटाइने बताइएको छ ।
एमसीसी परियोजना नेपालमा पनि भर्खरै सञ्चालनमा आएको छ । नेपालमा सञ्चालित परियोजनाको भविष्य के हुन्छ भन्ने बारेमा अझै आधिकारिक जानकारी गराइएको छैन । पोलिटिको अनलाइनले यसलाई ट्रम्प प्रशासन र डोज को अमेरिकाको विदेशी सहयोग कार्यक्रममाथि भएको नयाँ प्रहार बताएको छ । यसअघि यूएसएआईडी माथि प्रहार गरेको थियो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालसहित ४० भन्दा बढी विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धि प्रवर्धन गर्न विदेशी सहयोग दिइरहेको थियो ।
अमेरिकी विदेश मन्त्रालयबाट स्वतन्त्र रहेको एमसीसीसँग हाल २० वटा निम्न आय भएका देशहरूमा ५.४ अर्ब डलरको अनुदान मार्फत विभिन्न परियोजनाहरू कार्यान्वयन चरणमा थिए ।
तपाईको प्रतिक्रिया