
काठमाडौं। प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न कार्यक्रमसहित आज लोकतन्त्र दिवस मनाइँदैछ।
२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद् पुनःस्थापना गर्दै कार्यकारी पदबाट राजीनामा दिएका थिए। यस ऐतिहासिक घोषणाले निरङ्कुश शासनको अन्त्य गर्दै देशमा लोकतन्त्रको पुनःस्थापनाको बाटो खोल्यो। उक्त घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै हुन् र जनताको भावना अनुसार प्रतिनिधिसभा पुनःस्थापित गरिएको हो।”
सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा (माओवादी)को संयुक्त आन्दोलनको बलमा ०६३ साल वैशाख १५ गते पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरिएको थियो।
जनआन्दोलनको उपलब्धिका रूपमा देशले दुईपटक संविधानसभा निर्वाचन गर्यो र त्यसकै माध्यमबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरियो। सो संविधानले नेपाललाई संघीय संरचनामा प्रवेश गराएको हो।
संघीयता कार्यान्वयनपछि संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले जनताको पहुँचमा सेवा पुर्याउन र विपद्का बेला राहत प्रदान गर्न उल्लेखनीय भूमिका खेलेको छ।
२०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य भई लोकतन्त्रको स्थापनाको सम्झनामा २०६५ सालदेखि प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइँदै आएको छ।
तपाईको प्रतिक्रिया