बिहीबार ११ बैशाख २०८२
राजनीति

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त, राज्यमन्त्री तामाङ बर्खास्त

बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25

काठमाडौँ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी एमाले सांसद रघुजी पन्तले पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्।

पूर्व शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि रिक्त भएको मन्त्रालयमा पन्तको नियुक्ति गरिएको हो। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले संविधानको धारा ७६(९) अनुसार प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर तथा कार्यविभाजन गरिएको जानकारी दिएका छन्।

नवनियुक्त मन्त्री पन्तले बिहीबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

यसैबीच, प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई पदबाट बर्खास्त गरेका छन्। आफूविरुद्ध सार्वजनिक टिप्पणी गरेका कारण तामाङलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया