काश्मीरमा पर्यटकमाथी हमला: एक नेपालीसहित २६ को मृत्यु

काठमाडौं । भारतको जम्मू–काश्मीरस्थित पहलगाममा पर्यटकहरूमाथि लक्षित गर्दै भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा सर्वसाधारणमाथि भएको यो सबैभन्दा ठूलो आक्रमणमध्ये एक हो। श्रीनगरदेखि करिब ९० किलोमिटर टाढा रहेको पहलगाम पर्यटकहरूको प्रमुख गन्तव्य हो। मृतक नेपालीको नाम सन्दीप न्यौपाने रहेको जनाइएको छ, तर उनको विस्तृत विवरण खुलाइएको छैन।
आक्रमणमा आतंककारीले पर्यटकहरूलाई लक्षित गर्दै अन्धाधुन्ध गोली चलाएका थिए। यस घटनाको जिम्मा लस्कर–ए–तोएबासँग सम्बन्धित ‘द रेसिस्टेन्स फ्रन्ट (TRF)’ ले लिएको छ।
सन् १९८९ देखि काश्मीरमा जारी हिंसात्मक आन्दोलनमा संलग्न लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँग विलयको पक्षमा रहेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनालाई ‘क्रूर’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् भने गृहमन्त्री अमित शाह घटनास्थलतर्फ प्रस्थान गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले घटना ‘हृदयविदारक’ भएको भन्दै संघीय सरकारको जिम्मेवारीमा प्रश्न उठाएका छन्।
घाइतेहरूको उपचार जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समुदायले पनि घटनाको निन्दा गरेको छ।
तपाईको प्रतिक्रिया