बिहीबार ११ बैशाख २०८२
अर्थ

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन

बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25

वीरगञ्ज (पर्सा) । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले सङ्कलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढङ्गले वृद्धि भइरहेको र यस अवधिसम्म सात करोड ३६ लाख ५७ हजार ६७५ राजस्व सङ्कलन भएको जानकारी दिए । “कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म चार करोड ३० लाख राजस्व सङ्कलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म तीन करोड छ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ । पछिल्ला महिनामा राजस्व सङ्कलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ”, उनले भने ।

कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा एक करोड दुई लाख रकम राजस्व सङ्कलन हुँदै आएको छ । कार्यालयले आन्तरिक सुशासन र सेवाप्रवाहलाई चुस्त बनाएसँगै राजस्व सङ्कलन बढेको जनाएको छ । यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुरबाट तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट तीन करोड ४० लाख ३९ हजार ९४३ रकम राजस्व सङ्कलन भएको छ ।

यातायात क्षेत्रको आम्दानीबापत ४० लाख ८४ हजार ५४० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत २५ हजार ५०० र बेरुजुबापत ६७ हजार ३३६ रकम सङ्कलन भएको छ । कार्यालयले चालु आवमा करिब रु १० करोड राजस्व सङ्कलन हुने अनुमान गरेको छ । रासस

तपाईको प्रतिक्रिया