विद्यालय शिक्षा र संघीय निजामती विधेयक चाँडो पारित गर्न पहल लिने माओवादीको निर्णय

काठमाडौँ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले शिक्षकहरू लामो समयदेखि सडकमा रहे पनि सरकारले उनीहरूका माग सम्बोधनमा चासो नदेखाएको भन्दै अन्य दलहरूसँग समेत छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
साथै निजामती कर्मचारी, प्रहरी विधेयकलाई समेत अघि बढाउन माओवादीले पहलकदमी गर्ने जनाएको छ । बैठकमा अध्यक्ष प्रचण्डले संसद्मा पुगेका विधेयकहरू पारित गर्न पार्टीका तर्फबाट संसद्मा खेल्नुपर्ने आवश्यक भूमिकाबारे निर्देशन दिएका थिए ।
विद्यालय शिक्षा विधेयक टुंगो लगाउन माग गर्दै शिक्षकहरू झन्डै तीन सातादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
यसअघि प्रचण्ड नेतृत्वमा सरकार हुँदा विधेयक संसदमा दर्ता भए पनि वर्तमान सरकारले त्यसलाई समयमै टुंगो लगाएर शिक्षकहरूको माग पूरा गर्नतर्फ ध्यान नदिएको निष्कर्ष माओवादीको बैठकले निकालेको छ।
'शिक्षकहरुको माग पूरा गर्ने सम्बन्धमा सरकार गैरजिम्मेवार भएको भन्ने निष्कर्ष छ। त्यसकारण संसदबाट पार्टीले त्यसमा पहलकदमी गर्ने भनिएको छ,' प्रमुख सचेतक पाण्डेले भने।
संघीय निजामति विधेयकसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि-बजेट छलफलमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिशानिर्देश गरेको प्रमुख सचेतक पाण्डेले बताए।
माओवादील हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियानमा जनताबाट सल्लाह सुझाव पाएको आधारमा आगामी बजेट जनताका पक्षमा लैजाने गरी पहल लिने निर्णय पनि बैठकले गरेको छ।
तपाईको प्रतिक्रिया