प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन्। २०७२ सालको भूकम्पको स्मरणमा ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यदि मानिसको नियतले प्रकृतिको नियम बिगारियो भने त्यसको जोखिममा आफैँ पर्नु पर्ने बताएका हुन् ।
गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले सतर्क भएर रहनुपर्ने बताए । अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्न सके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गरे ।
गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताए । उनले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छाैँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गरे ।
सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरू मात्रै नभई समग्र नागरिक रहेको बताए । नागरिकहरू कुनै न कुनै हिसाबले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिए । उनले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताए ।
तपाईको प्रतिक्रिया