सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौं, यो हल्लामात्रै हो : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्र रहेको बताएकी छन् । शुक्रबार थाइल्यान्डबाट स्वदेश फर्केकी मन्त्री आरजुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सरकार परिवर्तनका कुरा मनोरञ्जनका लागि गरिएको टिप्पणी गरिन् ।
यस्तै, स्वदेश फर्किनुअघि हिजोमात्रै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनवार्ता गरेको मन्त्री राणाले खुलाईन् । देउवा दम्पत्ति बैंककमा रहेकै बेलामा नेपालमा भने सरकार ढल्ने दाबी गरिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले अहिलेको सरकार लामो नजाने र देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । उनले देउवा बैंकक उड्नुअघि आफूसँग फोनवार्ता भएको पनि खुलासा गरेका थिए ।
थाइल्यान्डमा कुनै पनि दुई पक्षीय भेटघाट नभएको बताउँदै उनले सभापति देउवाको व्यक्तिगत भ्रमण तथा उपचारका लागि गएका र आफू कार्यक्रमका लागि त्यहाँ गएको बताइन् । त्यसअघि बिमस्टेक बैठकमा गएका बेला दुई पक्षीय भेटघाट भएको तर यो भ्रमणमा केही पनि नभएको उनले बताइन् ।
तपाईको प्रतिक्रिया