
विराटनगर । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि कोशी प्रदेशमा अनुकूल वातावरण रहेकोले जुनसकै क्षेत्रमा लगानी गर्न सकिने बताए ।
‘नेपालमा उपयुक्त लगानीको वातावरण छ । लगानीकर्ता, मजदुर र सरकारबिच कुनै मनमुटाब छैन,’ ओलीले भने, ‘नेपालमा श्रमिक, रोजगारदाता र सरकारकाबीचमा भएका सहमति अनुसार आइएलओको सिद्धान्त प्रभावकारी कार्यान्वयन गरिएको छ ।’
उनले नेपालमा लगानीका लागि ढुक्कको वातावरण रहेको पनि बताए । ‘एउटा ढुक्कको वातावरण छ । त्यसो भएर अनुकूल वातावरण भएको हिसाबले पनि लगानीकर्ताले ढुक्कले लगानी गर्न सक्नुहुन्छ,’ उनले भने । कोशी प्रदेशमा यातायातको पूर्वाधार राम्रो बनिरहेको बताउँदै उनले लगानीकर्ताले सामान बजार पठाउने बेलासम्ममा सबै सडक पूर्वाधारहरू बनिसक्ने बताए ।
उनले उद्योगीले चाहेको कच्चा पदार्थ जहाँ चाहियो त्यहाँसम्म पुर्याउन सक्ने व्यवस्था रहेको, हवाई मैदान राती पनि उड्नसक्ने बनाएको पनि उनले बताए । ‘बिजुली गाउँभरि पुगेको छ । त्यसकारण लगानीका लागि उपर्युक्त वातावरण छ । अब छिट्टै हामी नदीको बाटोबाट सामान र मानिसहरूको आवागमन सुरु गर्न सक्छौँ । कलकत्तासम्मका लागि । छिटो र सस्तो लागतमा ल्याउन सकिन्छ । हनुमान नगरमा पोर्ट राखेर गंगाको बाटो हुँदै हामी ल्याउन सक्छौँ । हामी कुरा गरिरहेका छौँ । बिचमा केही ढिलासुस्ती भयो । अब हामी गर्दैछौं । यो अर्को लगानीको लागि अनुकूल वातावरण हो,’ प्रधानमन्त्रीले भने ।
तपाईको प्रतिक्रिया