वैवाहिक कार्यक्रममा पेस्तोल पड्काउने जसपा नेत्रीको हतियार बरामद

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) की नेत्री बबी सिंह यादवले वैवाहिक कार्यक्रममा पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ।
विवाह समारोह भएको घरबाट उक्त पेस्तोल बरामद गरिएको र त्यसको सक्कली वा खेलौना भएको पुष्टि गर्नका लागि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीको सोधपुछका क्रममा नेत्री यादवले सर्लाहीमा आफ्नी मामाकी छोरीको बिहेमा पटाका हालेर पड्काउने खालको खेलौनावाला बन्दुक पड्काएको स्वीकार गरेकी छिन्, भनी सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।
प्रहरीका अनुसार यही वैशाख ११ गते हल्दी र मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काइएको पाइएको हो। उक्त घटनासँग सम्बन्धित यादवको पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
मधेशमा विवाहको बेला बाजा, पटाका र आतसबाजी गर्ने चलन छ। तर, सक्कली बन्दुक होस् वा पटाकासहितको खेलौनावाला बन्दुक—दुवैलाई सार्वजनिक स्थलमा पड्काउन निषेध गरिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया