शनिबार ४ जेठ २०८२
खेलकुद

सगरमाथा संवाद : आज चार विषयमा ९ वटा छलफल सत्र

शनिबार जेठ ४, २०८२/ Saturday 05-17-25

काठमाडौं ।काठमाडौंमा जारी ‘सगरमाथा संवाद’ को दोस्रो दिन शनिबार विविध विषयमा छलफल सत्रहरू सञ्चालन हुँदैछन्।

बिहान ९ बजेदेखि साँझ ६:३० बजेसम्म सञ्चालन हुने कार्यक्रममा हरित अर्थतन्त्र, जलवायु हानि–नोकसानी र न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, तथा विश्वव्यापी तथा क्षेत्रीय साझेदारी विषयमा ९ वटा छलफल सत्र सञ्चालन हुने संवाद सचिवालयले जनाएको छ।

हालसम्म २३ प्रतिनिधिमण्डल उक्त सत्रमा सहभागी हुने सूचीमा समावेश गरिएका छन्। सहभागी सबै देश तथा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूलाई आफ्ना विचार राख्ने अवसर दिइनेछ। प्रत्येक प्रतिनिधिमण्डलले ५ मिनेट समय पाउनेछ।

संवादको पहिलो दिन शुक्रबार जलवायु परिवर्तनको असर, जोखिम र न्यायका विषयमा छलफल भएको थियो। कार्यक्रममा नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशहरूलाई बढी प्रदूषण गर्ने मुलुकहरूले जलवायु न्यायका लागि वित्तीय सहायता उपलब्ध गराउनुपर्ने माग राखिएको थियो। सहभागी देशहरूले त्यसमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

सरकारले ६ वर्षअघि नै सगरमाथा संवाद सुरु गर्ने योजना बनाएपनि कोभिड महामारीका कारण त्यसबेला रोकिएको थियो। लामो तयारीपछि आयोजना गरिएको यो संवाद आइतबार समापन हुनेछ।

अन्तिम दिन अतिथिहरूका लागि सगरमाथा अवलोकन उडानको व्यवस्था गरिएको छ। संवाद ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै औपचारिक रूपमा समापन गरिनेछ।

 

तपाईको प्रतिक्रिया